नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
१२ भदौ, रौतहट । कोरोना भाईरस (कोभिड १९)का कारण नेपालमा थप ४ जनाको मृत्यु भएको छ । सिरहामा एक, चितवमा एक, र धरानमा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
सिरहा जिलाको सुखीपुर नगरपालिका ८ का ६५ वर्षीय पुरुषको बिहीबार राति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । ज्वरो र रुघाखोकी लागेर उपचारका लागि गत भदौ ६ गते धरान पुगेका उनको सोही दिन स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट भदौ ८ गते पोजेटिभ आएको थियो । अवस्था गम्भीर भएका ती पुरुषलाई आईसीयूमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको छ । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
यस्तै, आज बिहान चितवन मेडिकल कलेजमा हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।
उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन । चितवनमा अहिलेसम्म कोरोनाबाट ७ जनाको मृत्यु भैसकेको छ ।
त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
झापाको दमक–३ घर भएका ८३ वर्षीय पुरुष र मोरङको बेलबारी–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो ।
८३ वर्षीय पुरुषको आज बिहान ३ः४५ बजे र ५६ वर्षीया महिलाको ३ः१४ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
८३ वर्षीय पुरुष बी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रिफर भएर धरानस्थित प्रतिष्ठानमा आएका थिए । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए । उनको अस्पतालमै डायलायसिस गरिएको थियो ।
यसैगरी ५६ वर्षीया महिला कोशी अञ्चल अस्पतालबाट रिफर भएर प्रतिष्ठानमा आएकी थिइन । उनमा पनि अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । उनको दीर्घकालीन रोगबारे जानकारी नभएको र आफन्तसँग सम्पर्क हुन नसकेको डा. सापकोटाले बताए ।
ती महिलामा यही भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने सोही दिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।