गौर राइसमिलको लागी प्रदेश सरकारले छुट्टयायो १५ करोड
१२ असार, रौतहट ।
स्थानियले सार्वजनिक रुपमा प्रयोग गरि रहेको गौर राइसमिलको जग्गा प्राप्तीका लागी प्रदेश सरकारले १५ करोड रुपैया विनियोजन गरेको छ ।
लामो समय देखी रौतहटका स्थानियले प्रयोग गरिरहेको सो जग्गाका सार्वजनिक सम्पती बनाउन भन्दै रौतहट क्रिकेट संघले पटक पटक खबरदारीका कार्यक्रमहरु गरेको थियो । २००३ सालमा स्थापना भएको गौर राइस मिल २०२६ सालमा आएर बन्द भए पछि सार्वजनिक रुपमै रौतहटवासीले प्रयोग गरि रहेका छन । झण्डै चार दशक सम्म स्थानियले सार्वजनिक काममा प्रयोग गरेको राइस मिलको नाममा रहेको ५ बिघा १९ कट्ठा १५ धुर जग्गामा लामो समय देखी केही भूमाफियाहरुले आँखा गाडेका थिए ।
राइसमिलको जग्गाको लागी प्रदेश सरकारले पहल अगाडी बढाएकोमा क्रिकेट सँघले खुशी व्यक्त गरेको छ । खेल मैदानका रुपमा प्रयोग र संरक्षण गर्दै आएको गौर राइसमिलको जग्गा प्राप्तिका लागि प्रदेश सरकारले १५ करोड रुपैयाँ छुट्टयाएर आफ्नो रेडबुकमा राखेको खबरले आफूहरु निकै हर्षित भएको क्रिकेट सँघले जनाएको छ । यस मैदानलाई खेलकुद, सभा समारोह, विविध कार्यक्रम, मेला तथा धार्मिक कार्यहरुको लागी समेत रौतहटवासीले प्रयोग गर्दै आएका छन ।
विगत लामो समय देखि गौर राइसमिलको जग्गा सार्वजनिक सम्पत्तिको रुपमा रौतहटवासीको हुनु पर्छ भन्ने माग राख्दै क्रिकेट सँघले अनेकौ पटक आन्दोलन तथा धर्नाको कार्यक्रम समेत गरेको थियो । सार्वजनिक सम्पतिमा गिद्धे नजर लगाउनेहरु बाट जोगाउदै आजको दिन सम्म आइपुग्दा सहयोग गर्ने सबै नगरवासी र जिल्लावासीमा क्रिकेट सँघले आभार प्रकट गर्दै माग प्रति सहमति जनाउदै सहकार्य गर्ने सबै निकाय, व्यक्ति तथा प्रदेश सरकारलाइ धन्यवाद ज्ञापन गरेको जनाएको छ ।
राइसमिलको जग्गा सार्वजनिक प्रयोगका लागी सरकारको मातहतमा ल्याउन क्रिकेट सँघले २८ दिन सम्म गौर नगरपालिका अगाडी धर्ना समेत दिएको थियो । सोही समयमा गौर नगरपालिका तथा प्रदेश सरकारका प्रतिनिधि समेतले जग्गा सार्वजनिक कामका लागी अधिग्रहण गर्ने प्रतिबद्धता गरेका थिए ।