बागमती नदीमा बेपत्ता भएका तिनैजना बालिकाको शव बरामद

   १० भाद्र २०७७, बुधबार ११:५९  

१० भदौ, रौतहट । रौतहट जिल्लाको बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा नुहाउन जाँदा बेपत्ता भएका तिनैजना बालिकाको शव बरामद भएको छ ।

गत ७ गते बिहान बागमती नदीमा ऋषि पञ्चमिको अवसरमा गढीमाई नगरपालिका वडा नं ७ धर्मपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीय छोरी पिंकी कुमारी मुखीया, लक्षमण दासकी १२ वर्षीय छोरी सुसिता कुमारी दास र छट्टु मुखियाकी १० वर्षीय छोरी चञ्चल कुमारी मुखिया नुहाउन जाँदा बेपत्ता भएका थिए ।

नदीमा ३ जना बेपत्ता भएका घटना लगत्तै धर्मपुर प्रहरी चौकीबाट र ईलाकाप्रहरी समनपुरबाट क्षेत्र बहादुर बरुवालको बमाण्डमा खटिएको टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा सोही दिन करिब ३ बजेको समयमा पिंकी कुमारी मुखियाको शव फेला परेको थियो ।

यस्तै मंगलबार बागमती नदीको किनारमा माधवनारायण नगरपालिका ८ स्थित सुसिता कुमारी दासको र राजदेवी नगरपालिका ९ ब्रम्हपुरीस्थित बागमती नदीको पूर्वपट्टी किनारमा चञ्चल कुमारी मुखियाको पनि शव फेला परेको रौतहट प्रहरी प्रवक्ता डिएसपी भरतद श्रेष्ठले जनाएका छन् ।

नदीमा डुबेर एक साथ तीन बालिकाको मृत्यू भएपछि प्रदेश २ सरकारले राहत स्वरुप १ – १ लाख दिने निर्णय गरेको छ ।

बुधबार प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयद्धारा जारी गरिएको विज्ञप्तिमा डुबेर ज्यान गएकी तीनटै बालबालिकाको परिवारलाई १र१ लाख रुपैयाँ दिने भएको छ ।