रौतहटमा तिन सय बेडको आइसोलेसन संचालन

   ९ भाद्र २०७७, मंगलवार १२:१९  

९ भदौं, रौतहट । रौतहटमा सबैभन्दा ठूलो आइसोलेसन सेन्टर संचालनमा आएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा रहेको जय किसान पोलिटेक्निकल क्याम्पस भवनमा २ सय ६० बेड सहितको आइसोलेसन सेन्टर संचालनमा आएको हो ।

जिल्लामा संक्रमितको संख्या बढी रहेको बेला व्यवस्थीत आइसोलेसनको अभावमा संक्रमितहरु घरमै बस्नु पर्ने बाध्यता रहेको थियो । धरहरीमा स्थापना भएको सो आइसोलेसनमा वृन्दावन नगरपालिकाले तिन सय थान बेड उपलब्ध गराएको हो । जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले आइसोलेसन संचालन गर्ने निर्णय गरे पछि आवश्यक परेको बेड आफूहरुले उपलब्ध गराएको वृन्दावन नगरपालिकाका मेयर राम स्नेही राय यादवले बताए । “बैठकको निर्णय अनुसार बेड र पाँच लाख रुपैंया सहयोग दिएका छौं ।” नगर प्रमुख यादवले भने “गौर अस्पतालमा कोविड १९ परिक्षण ल्याब स्थापना गर्ने निर्णय अनुसार प्रत्येक स्थानिय तहले पाँच लाख दिने निर्णय भएको हो ।”

स्थानीय तहको सहयोगमा जय किसान पोलिटेक्निकल क्याम्पस भवनमा संचालनमा आएको जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टरले रौतहटका संक्रमितको उपचारमा सहज हुने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । रौतहटमा व्यवस्थित आइसोलेसनको अभावमा संक्रमितहरु घरमै बस्नुपर्ने, होम आइसोलेसनमा बस्दा स्वास्थ्यकर्मीको पहुँच नहुने गुनासो आएको थियो ।

“दिन प्रतिदिन संक्रमितहरु बढनु चिन्ताको विषय हो । फैलिदो संक्रमणलाई नियन्त्रण गर्न जिल्लामा भदौ १५ गते सम्म निषेधाज्ञा लागु गरिएको छ ।” प्रमुख जिल्ला अधिकारी यादवले भने “पहिले भएका आइसोलेसनहरु बन्द भइसकेकोले नयाँ व्यवस्थीत आइसोलेसन संचालनको लागी धरहरीमा तिन सय बेडको आइसोलेसन संचालनको निर्णय गरिएको हो ।” हाल तिन सय मध्ये २ सय ६० बेडहरु हाल तयारी अवथामा राखिएको र त्यहाँ हाल ६ जना संक्रमितहरु रहेको उनले बताए ।

संचालनमा आएको आइसोलेसन सेन्टरमा एकजना मेडिकल अधिकृतको मातहतमा स्वास्थ्य प्राविधिकसहित चार जनाको टोली खटाइएको र थप स्वास्थ्यकर्मी तथा कर्मचारी खटाउने तयारी रहेको गौर अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. कृष्ण साहले बताए ।