प्रतिवेदनमाथि छलफल गर्दै: ओली र ‘प्रचण्ड’
भदौ ९, रौतहट । मंगलबार सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे दुई अध्यक्षबीच छलफल सुरु भइरहेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका हुन् । आज छलफलका लागि अध्यक्ष प्रचण्ड करिब पौने १० बजे बालुवाटार पुगेका थिए ।
नेकपाको अन्तरिक विवाद समाधान गर्न गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले भदौ ६ गते समाधानको सुत्रसहतिको १७ पेज लामो प्रतिवेदन बुझाएको थियो ।
दुवै अध्यक्षले आइतबार र सोमबार उक्त प्रतिवेदन अध्ययन गरेका थिए । दुई अध्यक्षको छलफलपछि उक्त प्रतिवेदन सचिवालय हुँदै स्थायी समितिबाट पारित गरेर कार्यान्वयनमा लैजान सुझाव गरिएको छ ।
ओली र प्रचण्डको आजको छलफलपछि सचिवालय बैठक बोलाउने र छलफलपछि अनुमोदन गर्ने नेकपाको तयारी छ ।