नेपालमा थप ७४३ जनामा संक्रमण पुष्टि
भदौ ८, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् ।
यस्तै, आज काठमाडौं उपत्यकामा थप २ सय २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गौतमका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ गरी उपत्यकामा २२४ जनामा संक्रमण पुष्टि भएको हो ।
उनका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ, भने संस्थागत आइसोलेसनमा ९ हजार १५४ र होम आइसोलेसनमा ४ हजार ५ सय ६१ जना रहेका छन ।
यस्तै पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन भने निको हुनेको कुल संख्या १८ हजार ८०६ पुगेको छ ।
त्यस्तै कोरोनाभाइरसबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको जानकारी दिइएको छ । यससँगै मृतकको संख्या १५७ पुगेको गौतमले जानकारी दिए ।