सिरहामा भदौ ३ गते मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि
द नेपाल मिडिया
६ भाद्र २०७७, शनिबार १३:०३
भदौ ६, रौतहट । सिरहामा भदौ ३ गते मृत्यु भएका एक पुरुषमा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
मिर्चैया नगरपालिका वडा नं. ४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
ती पुरुषको भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको यादवले बताए । उनी मधुमेह र उच्च रक्तचापका बिरामी पनि थिए ।
स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशालामा परीक्षणकालागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै उनको भदौ ३ गते मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख यादवले बताए ।
अहिले उनमा कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएपछि कन्ट्याक्ट ट्रेसिङ्गको काम शुरु गरिएको उनले बताएका हुन् ।