ललितपुरमा दुई र बुटवलमा एक जनागरी थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु
भदौ ५, रौतहट । ललितपुरमा दुई र बुटवलमा एक जनागरी थप ३ जनाको कोरोना भाईरस (कोभिड १९)का संक्रमणका कारण मृत्यु भएको छ ।
आज बिहान ललितपुरको पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीय महिला र सर्लाहीको मंलगवा निवासी ४६ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्र ललितपुरले जनाएको छ । दोलखाकी महिलाको यही भदौ २ गतेदेखि र सर्लाहीका पुरुषको गत साउन ३१ गतेदेखि पाटन अस्पतालमा उपचार हुँदै आएको थियो । तर, अहिले उनीहरुको ट्राभल हिस्ट्री खुलेको छैन ।
यस्तै, आजै बिहान बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा प्यूठानको स्वर्गद्वारी नगरपालिका–७ सोत्रेका ६४ वर्षीय मानबहादुर गौतमको शुक्रबार बिहान मृत्यु भएको हो ।
भदौ १ गते अस्पतालमा भर्ना भएका उनको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकोमा शुक्रबार बिहान साढे ६ बजेतिर मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले पुष्टि गरेका हुन् ।
उनी भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका थिए । स्वाबको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि प्यूठानमै उपचार भइरहेकामा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि, बुटवल ल्याइएको थियो । मृतक गौतममा मधुमेह र उच्च रक्तचापको समस्यासमेत थियो । उपचारकै क्रममा गौतमलाई निमोनिया पनि देखिएको अस्पतालले जनाएको छ । योसँगै बुटवलको कोरोना अस्पतालमा कोरोना संक्रमितको मृत्यु हुने संख्या तीन पुगेको छ ।
यस्तै, योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा १२६ जना उल्लेख भए पनि ललितपुर, बुटवल, बारा, पर्सा र चितवनको मृत्यु समावेश छैन ।