प्रेम सम्बन्धका कारण युवकको हत्या

   ४ भाद्र २०७७, बिहीबार १८:५१  

४ भदौ, रौतहट । साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवामा एक युवकको घाटी रेटेर हत्या गरेको अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

जिगंडवाका का २० वर्षिय निरजंन रामको घाटी रेटेर विभत्स तरिकाले हत्या भएको थियो । गरुडाकै एक फलफुल नर्सरीमा काम गर्ने रामलाई उनकै छिमेकीहरुले हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । आफ्नौ टोलको अलग धर्मकी युवति सँग प्रेम सम्बन्ध रहेको कारण उनको हत्या भएको प्रहरीले जनाएको छ ।

मृतक निरजंन रामलाई आफ्नो परिवारको सदस्यसँग देखे पछि उनीहरुको प्रेम प्रसंगको बारेमा थाहा पाए पछि स्थानिय २२ वर्षिय युवक शेख आजादले आफ्ना साथीहरुको सहयोगमा हत्या गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञान कुमार महतोले बताए ।
“आफ्नो परिवारको महिला सदस्यलाई युवकसँग देखे पछि हत्याको योजना बनाएको देखिन्छ ।” डिएसपी महतोले भने “पक्राउ परेका शेख आजादले चार दिन पहिले योजना बनाएर आफ्ना साथीहरुको सहयोगमा धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका हुन ।” फलफुल नर्सरीमा काम गरिरहेका रामलाई जन्मदिनको भोज खुवाउने भन्दै अत्याधिक मदिरा सेवन गराई बन्धक बनाएर बस्ती भन्दा तिन सय मिटर टाढाको स्थानमा लगेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको उनले जनाए ।

हत्यामा सँलग्न रहेको आरोपमा प्रहरीले शेख आजाद, अजय कुमार रन्जन, विवेक राय यादव, अर्जुन राम, सिकेन्द्र पासवान, बिजय महरालाई प्रहरीले पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ ।