कोरोनाका कारण पर्सा र सुनसरीमा गरी थप ३ जनाको मृत्यु
भदौ ३, रौतहट । कोरोना भाईरस (कोभिड १९)का संक्रमणबाट पर्सा र सुनसरीमा गरी थप ३ जनाको मृत्यु भएको छ । पर्सामा हिजो २ जना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
मृत्यु हुने एक वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ता बस्ने ८४ वर्षीय वृद्ध र एक जना वीरगञ्ज महानगरपालिका वडा नं. १३ भिस्वा बस्ने ५७ वर्षीय पुरुष रहेका छन । दुईमध्ये एक जनामा मृत्यु पछि संक्रमण पुष्टि भएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि हिजो नारायणी अस्पतालको सेमी आइसोलेसनमा भर्ना भएका ५७ वाढ़ीय पुरुषको दिउँसो साढे ३ बजे तिर मृत्यु भएको थियो । मृत्यु पश्चात उनको स्वाब लिएर पिसिआर प्रविधिबाट परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढेर २३ पुगेको छ, भने कुल संक्रमितको संख्या बढेर १ हजार ५ सय ८३ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साको तथ्यांकले देखाएको छ ।
यस्तै, कोरोना भाइरस संक्रमणका कारण सुनसरीमा पनि ७१ वर्षीया महिलाको बुधबार मृत्यु भएको छ ।
धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । धरानकी स्थायी बासिन्दा उनी खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन ।
त्यसअघि नै साउन २३ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनी दम र मुटुको समस्याका कारण उपचाररत रहेको अस्पतालले जनाएको छ ।