मिसेल ओबामा : ट्रम्प अमेरिकाका लागि गलत राष्ट्रपति

   ३ भाद्र २०७७, बुधबार १२:२७  

भदौं ३, रौतहट । अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना गरेकी छन् ।राष्ट्रपतीय चुनावमा डेमोक्रयाटिक पार्टीका तर्फबाट जो बाइडेनलाई औपचारिक उम्मेदवार घोषणा गर्न सुरु भएको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा ओबामाले ट्रम्पको कडा आलोचना गरेकी हुन् ।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदै छ । भर्चुअल सम्मेलनलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति बाराक ओबामा पत्नी मिसेलले अमेरिकाका राष्ट्रपतिका लागि ट्रम्प सही व्यक्ति नभएको दाबी गरिन् ।

‘डोनाल्ड ट्रम्प हाम्रो देशका लागि गलत राष्ट्रपति हुन्,’ मिसेलले भनिन् । राष्ट्रपति ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) को महामारी र यसबारेका विभिन्न तथ्यलाई बेवास्ता गरेका कारण अर्थतन्त्र खराब भएको उनको आरोप छ ।सम्बोधनका क्रममा मिसेलले ट्रम्प प्रशासननले अमेरिकीमा विभाजन ल्याएको र दाबी गरिन् ।

ट्रम्पप्रति लक्षित गर्दै मिसेलले ‘ब्ल्याक लाइफ म्याटर्स’ लाई अझै पनि देशको सर्वोच्च निकायले उपहास गरिरहेको बताइन् । ‘हाम्रा नेताहरुले नागरिकलाई राज्यको दुश्मनका रूपमा प्रस्तुत गरेको देखिएको छ । श्वेत प्राधनताका पक्षपातीहरुको समर्थन सर्वोच्च कार्यालयबाटै भएको छ,’ मिसेलले भनिन् काम गर्नका लागि ट्रम्पले यथेष्ट समय पाएका भए पनि उनी गम्भीर नरहेका मिसेलको गुनासो छ ।

‘उनले आफूलाई प्रमाणित गर्न आवश्यकभन्दा धेरै समय पाए । तर उनलाई त्यसमा कुनै वास्ता छैन,’ मिसेलले भनिन् । सम्बोधनका क्रममा मिसेलले जो बाइडेन निकै सभ्य र योग्य भएको बताइन् । ‘हामीले हाम्रो जीवन अडिएको ठानेर जो बाइडेनलाई मत दिनुपर्छ,’ उनले भनिन् ।

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै मिसेलका श्रीमान् ९बाराक ओबामा० का कारण ह्वाइटहाउस प्रवेश गर्न पाएको प्रतिक्रिया दिएका छन् । उनले आफू दोस्रो कार्यकालका लागि पुनस् निर्वाचित हुने र बाइडेनले पराजय भोग्ने दाबी गरेका छन् ।

एजेन्सी