रौतहटमा समुदायमा देखियो कोरोना
१२ असार, रौतहट । रौतहटमा कोरोना संक्रमितको सँख्या देशमै सबै भन्दा उच्च रहेको छ । जिल्लाका १८ वटै स्थानिय तहमा कोरोना संक्रमण देखि सकेको छ । भारत बाट आएर स्थानिय पालिकाले निर्माण गरेका विभिन्न क्वारेन्टीनमा बसेकाहरुको स्वाब परिक्षण गर्दा रौतहटमा १ हजार ७७ जनामा संक्रमण पुष्टी भएको छ ।
क्वारेन्टीनमा बसेका बाहेकको व्यक्तिमा पहिलो पटक कोरोना संक्रमित भेटिए पछि रौतहटमा कोरोना समुदाय स्तरमा प्रवेश गरी सकेको पुष्टी भएको छ । बिहिवार साँझ आएको पिसिआर परिक्षणको रिपोर्टमा क्वारेन्टीन बाहिर परिवार सँग रहेका रौतहटका तिन व्यक्तिमा संक्रमण पुष्टी भएको हो । रौतहटको गौर नगरपालिका वडा नं. ५ का दुई पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा संक्रमण पुष्टी भएसँगै कोरोना समुदायमा प्रवेश गरेको हो ।
गौर ५ मा भेटिएका मध्ये ३० वर्षिय संक्रमित रौतहटको बौधिमाई नगरपालिकाको बंकुल बजारमा पसल संचालक रहेका छन । भारतको मोतिहारी कोरहीया घर भइ हाल गौर ५ ससुराली घरमा बसेका उनी औरैयामा पिसिआर परिक्षण गराउदा नतिजा पोजेटिभ आएको हो ।
गौरमा भेटिएका मध्ये दोश्रो संक्रमित इशनाथ नगरपालिका २ घर भइ हाल गौर ५ बस्ने १७ वर्षिय युवकमा पनि संक्रमण पुष्टी भएको हो । काठमाण्डौं जान पिसिआर जाँच गराएका ती युवकको नतिजा पनि पोजेटिभ आएको हो ।
यसै गरी तेश्रो संक्रमित इशनाथ नगरपालिका वडा नं. ३ का २५ वर्षिय पुरुष रहेका छन । वडा अध्यक्षको सवारी चालकको काम गरि रहेका उनलाई पनि पिसिआरमा पोजेटिभ भेटिएको हो ।
बजार र भिडभाड हुने स्थान तत्काल बन्द हुनुपर्छ ः डा. कृष्ण साह
जिल्लाको दुई स्थानिय तहका तिन पुरुषमा संक्रमण पुष्टी भए पछि रौतहटमा चिन्ता थपिएको गौर अस्पतालका मेडिकल सुरपरिडेन्टेन डा. कृष्ण साहले बताए । “संक्रमित भेटिएका तिनै जना समुदायमा कोरोना फैलिएको छ भन्ने पुष्टी गर्ने प्रतिनिधि पात्र हुन ।” डा. कृष्ण साहले भने “रौतहटको पछिल्लो अवश्था हेर्दा अवश्था चिन्ताजनक देखिन्छ । बजार र भिडभाड हुने स्थानलाई तुरुन्त नियन्त्रण गर्नुपर्छ ।” संक्रमित भेटिएकाहरु कसको सम्पर्कमा आए पछि संक्रमित भए भन्ने कुराको यकिन भएको छैन । संक्रमण फैलाएको श्रोत को हो र कहाँ छ भनेर चाडै पता लगाउन आवश्यक रहेको डा. साहले बताए ।
संक्रमित मध्ये एक जना भारत आउने जाने गरेकोले ट्राभल हिस्ट्री हेरेर कन्टयाक्ट ट्रेसिङ्ग शुरु भएको छ । रौतहट कोरोना जोखिममा रहेको बताउदै डा. साहले भने “समुदायमा परिक्षणनै हुन सकेको छैन । जिल्ला भरीका सबैलाई परिक्षण गर्न कठिनाई हुन्छ ।” संक्रमण बढी रहेकै बेला स्थानियले भने मास्कको प्रयोग गर्न छोडनु दुखद भएको उनले बताए । प्रशासनले भिडभाड हुने स्थानलाई नियन्त्रण गर्नु पर्ने र कन्टयाक्ट ट्रेसिङ्गको काम द्रुत गतिमा अगाडि बढाउनु पहल गर्नु पर्ने उनले बताए ।
संक्रमण पुष्टी भएकाहरुलाई गौरी शंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको उनले बताए ।
कन्टयाक्ट ट्रेसिङ्ग शुरु गरेका छौं ः प्रमुख जिल्ला अधिकारी
समुदायमा रहेका तिन जना संक्रमित भेटिए पछि उनीहरुको कन्टयाक्ट ट्रेसिङ्ग शुरु भएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए ।
“तिनै जनाको ट्राभल हिस्ट्री हेर्दा तिन मध्ये दुई जना भारत तर्फ गएर आएको देखिएको छ ।” प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले भने “संक्रमित मध्ये १७ वर्षिय युवकको परिवारको स्वाब संकलन भइसकेको र अन्यको पनि संकलन गर्दैछौं ।” समुदायमा संक्रमण देखिए पछि सर्तकता बढाइने उनले बताए । संक्रमण पुष्टी भएकाहरुको सम्पर्कमा आएका व्यक्तीहरुको पहिचान गर्ने काम अगाडी बढाएको बताउदै प्रमुख जिल्ला अधिकारी घिमिरेले भने “अहिले संक्रमित भएकाहरुको एक चरणको रिपोर्ट हेरि सके पछि बाँकी कुराहरु अगाडी बढाउछौं ।”
रौतहटमा दिनप्रतिदिन संक्रमण बढी रहदा मुख्य बजारमा स्थानियले मास्क, सामाजिक दुरी तथा अन्य सुरक्षा सर्तकता समेत अपनाएका छैनन ।
मुख्य बजार गौर, गरुडा र चन्द्रनिगाहपुर लगायत भित्रि बजारहरुमा समेत होटेल, सैलुन, किराना खाद्यान्न, रेडिमेड सहित सबै किसिमका पसलहरु सुचारु रहेका छन । रौतहटका बजारको भिडभाड हेर्दा कोरोनाको कुनै प्रभाव नै नभएको आभाष हुन्छ । नेपाल भारत सिमाना बन्द भनिए पनि त्यो लागु हुन सकेको छैन । गौर नगरपालिकाको महादेवपट्टी, भन्सार भन्दा पूर्व पट्टीको स्थान र बेलबिछवाबाट सहजै रुपमा भारतीयहरु नेपाल प्रवेश गरि रहेका छन ।