थप ४ सय ३४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ११ हजार नाघ्यो

   ११ असार २०७७, बिहीबार ११:१०  

११ असार, काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म संक्रमितको संख्या ११ हजार १ सय ६२ पुगेको छ ।

बिहीबार ३ सय १२ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कुल स‌ंख्या २ हजार ६ सय ५० पुगेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन पुरुष तथा ललितपुरमा एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सबैभन्दा धेरै पाल्पामा १२२ जना संक्रमित थपिएका छन् । यस्तै, कञ्चनपुरका ६० जना, रौतहटका ३८, दैलेखका १९, बझाङका १८, अछाम र सुर्खेत १३/१३ जना र डडेलधुराका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, तनहुँ र धनुषाका ९/९ जना, बाजुरा र सप्तरीका ८/८ जना, प्युठान र रुपन्देही ७/७ जना, सुनसरी, बर्दिया र म्याग्दीका ६/६ जना, सर्लाही, महोत्तरी र नवलपरासीका ५/५ जना, बैतडी, कैलाली, कालीकोट, बाँके, नवलपरासी र ताप्लेजुङका ३/३ जना तथा सिराहा, इलाम, जुम्ला, लमजुङ, रामेछाप, धादिङ, गोरखा र बाग्लुङका २/२ मा संक्रमण पुष्टि भएको छ ।

यसैगरी बाँके, दार्चुला, खोटाङ, जुम्ला, ओखलढुङ्गा, कास्की, सल्यान, झापा, मोरङ, बारा, डोल्पा, दाङ, गुल्मी, स्याङ्जा र रुकुमपूर्वका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको जनाए। मृत्यु हुनेमा स्याङ्जाका एक जना पुरुष र चितवनका एक पुरुष रहेका छन्।

योसँगै कोरोना संक्रमणका कारण २६ जनाको ज्यान गएको छ। देशभर कोरोना संक्रमितको संख्या ११ हजार १६२ जना पुगेको छ।