बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु
भदौ १, रौतहट । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । दुई अध्यक्षबीच असमझदारी बढेपछि एक महिनादेखि बस्न नसकेको सचिवालय बैठकमा हालै गठित ६ सदस्यीय कार्यदलको कार्यदेशबारे छलफल हुने बताइएको छ ।
साउन ४ गतेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन । दुई अध्यक्षबीच पटक पटकका छलफलपछि शुक्रवार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनाएर पार्टीभित्र उत्पन्न समस्या समाधानकाका लागि सुझाव पेश गर्न जिम्मा दिइएको थियो ।
सो कार्यदलको दुईपटक बैठक समेत बसिसकेको छ । बरिष्ठ नेता नेताहरु झलनाथ खनाल, माधव नेपाल लगायतले पार्टीको बैठकबाट कार्यदल गठन गरेको भए त्यसले संस्थागत मान्यता पाउने बताएपछि कार्यदललाई अनुमोदन गर्न आज बैठक बसेको हो । बैठकले सो कार्यदललाई कार्यादेशसमेत दिनेछ ।
कार्यदलमा भीम रावल,शंकर पोखरेल,सुरेन्द्र पाण्डे,जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् । दुई अध्यक्षबीच मोटामोटी समझदारी भइसकेको र त्यसैलाई लिखित रुपमा बैठकबाट अनुमोदन गर्नेगरी कार्यदलले मस्यौदा गर्ने नेताहरुले जानकारी दिएका छन् ।