लेनदेनको विषयमा कुटपिट हुँदा छोराको मृत्यु, बुवासहित परिवारका ५ जना पक्राउ
२९ असार, रुपन्देही । लेनदेनको विषयमा भएको विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ ।
विवादका क्रममा निर्घात कुटपिटबाट रुपन्देहीको गैडहवा गाउँपालिका १ बगियाका ३० वर्षीय महेश भरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयमा आफ्नै परिवारसंगै भएको विवादमा उनीमाथि कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका महेशलाई उपचारका लागि भीम अस्पतालमा ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको छ । घाइते भएकी मृतक महेशकी श्रीमती सोही अस्पतालमा उपचाररत रहेकी हुन् ।
यस्तै, कुटपिटको घटनामा संलग्न भएको आरोपमा मृतकको बुवा ५४ वर्षीय फौदार भरसहित परिवारका ५ जनालाई हिरासतमा लिएको छ ।
पक्राउ परेका उनीहरुमाथि घटनाबारे अनुसनधान भइरहेको इलाका प्रहरी कार्यालय सूर्यपुरले जनाएको छ ।






