घरमा आगलागी हुँदा लाखौँको क्षति

   २८ असार २०७९, मंगलवार १८:३१  

२८ असार, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकास्थित एक जनाको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

हरिवन नगरपालिका वडा नम्बर २ पाकरगाछीका मनहरी मैनालीको काठको घरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो १२:३० बजेतिर विद्युत सर्ट भएर मैनालीको घरमा आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

आगलागीबाट घरमा भएको लत्ता, कपडा, भाँडा, फर्निचर, अन्नपात र नगद समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।