रामेछापमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुग्यो, २१ जना उपचाररत
२१ असार, रामेछाप । रामेछापको सुनापती गाउँमा आज बिहान भएको बस दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।
सुनापती गाउँपालिका वडा नमबर ५ र खाँडादेवी गाउँपालिका वडा नम्बर १ को सीमानामा पर्ने मोडमा मंगलबार बिहान १० बजेतिर भएको बस दुर्घटनामा परेर ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमै मृत्यु हुनेमा ५ जना पुरुष र ४ जना महिला रहेकी प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनामा परेर गम्भीर घाइते भएका थप ४ जनाको उपचारकै क्रममा मृत्यु भएको छ । उपचारका क्रममा ज्यान गुमाउनेमा ३ जना पुरुष र एक महिला रहेकी हुन् । दुर्घटनामा परेर घाइते भएका २१ जनामध्ये १८ जनालाई एम्बुलेन्समार्फत र तीन जनालाई हेलिकप्टरबाट धुलिखेल अस्पतालमा उपचारका लागि ल्याइएको छ ।
घाइते एक जनाको अवस्था गम्भीर रहेको र धुलिखेल अस्पतालमा उपचार सम्भव नभएकोले उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुनापती हिलेदेवीबाट काठमाडौंतर्फ जादैँ गरेको बा ३ ख ८३९६ नम्बरको बस सडकबाट करिब ३५ मिटर तल खसेको थियो ।