मनसुन सक्रिय, केही स्थानमा भारी वर्षा
११ असार, काठमाडौं । मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने र नदीहरुमा बहाव बढ्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

पानी पर्ने क्रम बढेसँगै देशका बिभिन्न स्थानका नदीहरुमा पनि बहाव बढ्ने छ । आजबाट कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबईलगायत सबै प्रदेशका तराई भई बहने साना नदीमा बहाव बढ्ने र जलसतह सामान्य अवस्थाबाट सतर्कता तह आसपास हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले नदी तटीय क्षेत्रमा उच्त सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने भएकाले नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।







