बलात्कारपछि गर्भवती भएकी किशोरीको जबरजस्ती गर्भपतन

   ३० जेष्ठ २०७९, सोमबार १३:२४  

३० जेठ, बारा । बाराको प्रसौनीमा एक किशोरीमाथि सामूहिक बालात्कार भएको घटना सार्वजानिक भएको छ । तीन महिनाअघि सामूहिक बलात्कृत भएकी १६ वर्षीया किशोरी गर्भवती भएको खबर आरोपीलाई थाहा भएलगत्तै पून:जबरजस्ती ती युवतीलाई शनिबार राति डाक्टर महतोकोमा लगेर गर्भपतन गराएको प्रहरीले जनाएको छ ।

बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रस्टोकाकी १६ वर्षीया किशोरीलाई सोही गाउँपालिका वडा नमबर २ का २६ वर्षीय भोला भन्ने दिपक साह र श्यामसुन्दर साहले तीन महिनाअघि जबरजतस्ती सामूहिक बलात्कार गरेका थिए । किशोरीलाई करणी गरेपछि आरोपीले ज्यान मार्ने धम्की दिएको कारण घटना कसैलाई पनि थाहा हुन सकेको थिएन् ।

बाराका प्रहरी प्रवक्ता राजेश थापाका अनुसार “महिनावारी (रजस्वला) रोकीएपछि आफू गर्भवती भएको बिषयमा आरोपीलाई भेटेर बताएपछि शनिबार राती उनीहरुले गर्भपतन गराएको पीडित किशोरीकी आमाले बताएकी हुन्” ।

आरोपित दुवै युवकले शनिबार राति घरबाट जबरजस्ती डाक्टर ओमप्रकाश महतोकोमा लगेर अचेत बनाएर गर्भपतन गराएपछि होसमा आएर घर फर्किएकी ती किशोरीले आफुसँग भएको घटनाबारे आफ्नो परिजनलाई बताएकी थिइन् । पीडितले घटनाबारे बताएपछि आरोपी दुवै जनासहित डाक्टर महतोविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

घटना पश्चात् फरार भएको आरोपी तीनै जनाको खोजी भइरहेको जिल्ला प्रहरी बाराले जनाएको छ ।

पीडित किशोरीको आइतबार दिउँसो प्रादेशिक अस्पताल कलैयामा स्वास्थ्य परीक्षण गराएर प्रहरीकै संरक्षणमा राखिएको प्रहरीले जनाएको छ ।