बेल्टार बजारमा आगलागी हुँदा लाखौँको क्षति

   २७ जेष्ठ २०७९, शुक्रबार १३:३५  

२७ जेठ, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टार बजारमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

विद्युत सर्ट भई बिहीबार राति करिब ९ बजेतिर चौदण्डीगढी नगरपालिका ७ बेल्टार बजारमा स्थानीय रामचन्द्र बस्नेतको घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट नगद, जिन्सी, भौतिक संरचना गरी करीब १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उदयपुरका डिएसपी सन्तोष आचार्यका अनुसार आगालागीबाट घरभित्र रहेको लत्ताकपडा, फेन्सी सामान, जुत्ता चप्पल जलेर नष्ट भएको छ ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले घटनास्थलमा एक घण्टापछि पुगेका थिए । आगो स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो ।