प्रहरी हिरासतमै एक कैदीको मृत्यु
२७ जेठ, मोरङ । मोरङको विराटनगरमा प्रहरी हिरासतमै एक थुनुवाको मृत्यु भएको छ ।
आफ्नै श्रीमती सकुन्तला ठकुरीलाई ज्यान मार्ने आरोपमा पक्राउ परेका जिल्लाको केराबारी गाउँपालिका वडा नम्बर २ का ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ज्यान मार्ने अभियोगमा जेठ २५ गते (बुधबार) घरबाटै पक्राउ परेका उनलाई अदालतमा उपस्थित गराउन बिहीबार सरकारी वकिल कार्यालय मोरङमा पेस गरेको थियो ।
हिजो सरकारी वकिल कार्यालयमा पुगेको ठकुरी अचानक बेहोस हुँदा उपचारका लागि उनलाई कोसी अस्पताल ल्याएपनि उपचारकै क्रममा मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ ।






