अविरल वर्षाको कारण मेलम्ची नदीमा बनाइएको पुल क्षति ग्रस्त
द नेपाल मिडिया
२६ जेष्ठ २०७९, बिहीबार १३:५४
२६ जेठ, सिन्धुपाल्चोक । बुधबार राति भएको अविरल वर्षाको कारण आएको बाढीले मेलम्ची नदीमा बनाइएको पुल क्षति ग्रस्त भएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर ७ र ११ जोड्ने अस्थायी फट्के पुल (ह्युमपाइप कल्भर्ट)मा क्षति भएकोले यातायात सेवा अवरुद्ध भएको हो ।
हिजो गएरातिको वर्षाले मेलम्ची नगरपालिका ११ स्थित ह्युम पाइप जडित फट्के पुलमा क्षति र्पुयाएको हो । पुलमा क्षति पुगेसँगै सडक बन्द भएको छ । अहिले मेलम्ची नगरप्रमुख आइतमान तामाङ वडा नम्बर ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ लगायतले क्षतिग्रस्त ह्युमपाइपको अनुगमन गरेपछि मर्मत थालिएको छ ।
मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङका अनुसार क्षति पुगेका ह्युमपाइप मर्मत गरेर १ हप्ता चलाइने छ । मेलम्ची इन्द्रावती जोड्ने पुलमा भने क्षति नपुगेको तामाङले जानकारी दिए ।