स्रोत नखुलेको रकमसहित सर्लाहीबाट एक भारतीय नागरिक पक्राउ

   २३ जेष्ठ २०७९, सोमबार १२:०३  

२३ जेठ, सर्लाही । स्रोत नखुलेको रकमसहित सर्लाहीबाट एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

ब्रम्हपुरी गाउँपालिका वडा नम्बर ४ त्रिभुवननगरबाट भारतको बिहार सितामढी जिल्लाको सोनवर्षा ग्राम २ का ४० वर्षीय विश्वनाथ महतोलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

भारतको सोनवर्षा तर्फबाट नेपालको त्रिभुवननगर तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवारी उनलाई शंकास्पद अवस्थामा चेकजाँच गर्ने क्रममा साढे ७ लाख रुपैयाँ बरामद भएको सर्लाहीको प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

मोटरसाईकलको तलासी लिदाँ मोटरसाईकलको सिटमुनी रहेको ब्याट्री बक्स भित्र लुकाईछिपाई राखेको अवस्थामा आइतबार दिउँसो २ बजेतिर निजलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । रकमसहित पक्राउ परेका उनीमाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रकमको स्रोत नखुलेको कारण उनलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।