बाबु-छोराको हत्या भएको घटनामा मृतकको बुहारीसहित तीन जना पक्राउ

   १९ जेष्ठ २०७९, बिहीबार १३:५०  

१७ जेठ, सिरहा । सिरहाको अर्नामा गाउँपालिकामा जेठ ८ गते बाबु-छोरालाई सुतेकै अस्थानमा हत्या गरिएको घटनामा उनका बुहारीकै संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

अर्नामा गाउँपालिका वडा नम्बर १ महनौरका सन्तकुमार पालको जेठ ११ गते विवाह तय गरिएको थियो । जेठ ८ गते आइतबार राति घरमा विवाहको गीत कार्यक्रम रहेको ले मध्यराति १२ बजेतिर सुत्न गएका १९ वर्षीय सन्तकुमार र उनका बुवा चन्द्रदेव पाललाई धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो ।

गोठभित्रको खाटमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट उनीहरुको हत्या भएको थियो । बाबु(छोराको हत्यामा विवाहको दाइजो र परिवारिक झगडा देखिएको छ ।

मृतक चन्द्रदेवको बुहारीसहित ३ जनालाई प्रहरीले हिरासतमा लिएको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका ४ का ६५ बर्षीय बेचु पाल, अर्नामा गाउँपालिका ४ कि २६ बर्षीया शान्तिदेवी पाल र अर्नामा गाउँपालिका १ महनौरका ४८ बर्षीय जनिफ मियाँ रहेका छन् ।

हत्याको संलग्नतामा पक्राउ परेका जनिफ मिया शान्तिदेवीको चिनजानकै व्यक्ति हुन् । पक्राउ परेका तीनै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

प्रवक्ता बुढाथोकीका अनुसार विवाहमा बुहारीलाई नबोलाई नाति नातीनिलाई मात्रै मृतक चन्द्रदेवले बोलाएका थिए ।