तारा एयरको जहाज दुर्घटना हुँदा एकै परिवारका ७ जनाको मृत्यु
१६ जेठ, रौतहट । आइतबार बिहान ९:५५ मा उडेको तारा एयरको जहाज दुर्घटनाग्रस्त हुँदा एकै परिवारका सात जनाको मृत्यु भएको छ ।
जहाजमा १९ जना यात्रु र चालक दलका ३ सदस्य सवार भएका थिए । पोखराबाट जोमसोमका लागि उडेको जहाज दुर्घटनाग्रस्त हुँदा धनुषाका मिथिला नगरपालिका ११ लोटाका एकै परिवारका ७ जनाको मृत्यु भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार परिवारका सातै जना मुक्तिनाथ दर्शनका लागि जोमसोम जाँदै थियो । बिहान उडेको जहाज सम्पर्कविहीन भएपछि खोजी गर्ने क्रममा थाङसाङ–२ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको प्रहरीले जनाएको छ ।
विमान दुक्राटुक्रा भएको अवस्थामा फेला परेको र यार्सागुम्बा टिप्न गएकाहरूले दुर्घटनाबारे जानकारी गराएपछि उद्धार टोली घटनास्थलमा पुग्न सफल समेत मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जनाए ।
यस्तै, तारा एयरको जहाज दुर्घटना हुँदा हालसम्मा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।






