३३ सय रुपैयाँमै २०० एमबिपिएसको तीन महिने प्याकेज सार्वजनिक
५ जेठ, रौतहट । वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले मात्र ३३ सय रुपैयाँमै २०० एमबिपिएसको तीन महिना विश्वस्तरीय द्रुत गतिको इन्टरनेट सेवा सार्वजनिक गरेका छन् ।
इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले बुधबारदेखि लागू हुनेगरी नेट टिभी प्रयोग नगर्ने ग्राहकलाई लक्षित गर्दै मात्रै ३३ सय रुपैयाँमा २०० एमबिपिएसको सस्तो दरको इन्टरनेट प्याकेज कम्पनीले सार्वजनिक गरेको छ ।
यो प्याकेज बजारमा उपलब्ध भएका मध्ये सर्वसुलभ विकल्प भएको कम्पनीले दावी गरेको हो । ३३ सय रुपैयाँमै २०० एमबिपिएसको तीन महिने यो प्याकेज लिन चाहने ग्राहकलाई इन्टरनेट जडान, केबल र डुअल ब्यान्ड राउटर निःशुल्क गरिएको छ । जडान गर्ने बेलामा राउटरका लागि जम्मा १ हजार रुपैयाँ डिपोजिट राख्नुपर्ने वल्र्डलिङ्कले जनाएको छ ।
‘राउटर डिपोजिट र इन्टरनेट शुल्क बाहेक ग्राहकले थप अन्य कुनै पनि शीर्षकमा शुल्क तिर्नु पर्दैन,’ कम्पनीले भनेको छ, ‘यो नयाँ प्याकेजबाट विशेषगरि नेटटिभी आवश्यक नपर्ने ग्राहक लाभान्वित हुने अपेक्षा लिएका छौँ ।’ २०० एमबीपीएसको यो नयाँ प्याकेजमा नेटटिभी बाहेकका सुविधा भने उपलब्ध हुने बताइएको छ ।
जसअनुसार ग्राहकले पाँच ओटा डिभाइसमार्फत कम्पनीका १४ हजारभन्दा बढी वाईफाई हटस्पटमा अनलिमिटेड डेटा चलाउन सकिने ‘वाईफाई मोबिलिटी’को सुविधा पाउनेछन् ।
गुणस्तरीय सेवा कायम गर्दै ग्राहकका लागि सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट उपलब्ध गराउन लागिपरेको कम्पनीले बताएको छ ।