वैशाख ९ गतेदेखि एसईईको परीक्षा सञ्चालन हुने

   ६ बैशाख २०७९, मंगलवार १४:५७  

६ वैशाख, रौतहट । वैशाख ९ गते (शुक्रबार) देखि एसईईको परीक्षा सञ्चालन हुने भएको छ ।

कोरोना संक्रमण दर घटेसंगै यसपालि पहिलेको जस्तै (भौतिक उपस्थिति)मा एसईईको परीक्षण हुने भएको छ । विश्व व्यापी रुपमा फैलिको कोरोना महामारीका कारण विगत दुई वर्षदेखि हुन नसकेको माध्यमिक तह (एसईई)को परीक्षण वैशाख ९ गतेदेखि सुरु हुने भएको छ ।

कोरोना संक्रमणलाई मध्य नजर गर्दे शैक्षिक सत्र २०७७ र २०७६ मा विद्यालयले गरेको आन्तरिक मूल्यांकनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

तर, यसपालि बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा देशभरका २ हजार ७ परीक्षा केन्द्रमा एसईईको परीक्षण सञ्चालन हुने बोर्डले जनाएको छ ।

परीक्षामा ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थी सहभागी हुनेछन् । प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षा सामग्री ७७ वटै जिल्लामा पुगिसकेको बोर्डले जनाएको छ ।