चोरिएको मोटरसाइकलसहित वीरगञ्जबाट तीन पक्राउ

   १८ चैत्र २०७८, शुक्रबार १०:३५  

१८ चैत, पर्सा । मोटरसाइकल चोरी गरी भाग्दैँ गरेको अवस्थामा वीरगञ्जबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वीरगन्ज महानगरपालिका १६ बसपार्क स्थित एक ग्यारेज भित्रबाट मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा काठमाडौँ महानगरपालिका १८ का ३४ वर्षीय कमल गिरी, भरतपुर महानगरपालिका १५ बस्ने १९ वर्षीय निशान थापा र वीरगञ्ज महानगरपालिका १५ निवासी १८ वर्षीय सन्दीप घिमिरेलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका २७ बस्ने मुन्ना अन्सारीको ग्यारेज भित्र पार्किङ गरिएको साइन मोटरसाइकल चोरी गरी भाग्ने क्रममा तीनै जनालाई पक्राउ गरिएको पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

प्रदेश २–०३–००२ प ५९३७ नम्बरको चोरीको मोटरसाइकल र रेञ्च, छेनी, हतौडा, पेचकस, साँचो सहित हिरासतमा लिएको हो । प्रारम्भिक अनुसन्धानबाट उनीहरूले ग्यारेजको ताल्चा फुटाई मोटरसाइकल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।