दुई भारतीयसहित चार नक्कली परीक्षार्थी पक्राउ
७ चैत, रुपन्देही । रुपन्देहीको बुटवलबाट चार जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका ७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलवस्तु नगरपालिका ४ का २० वर्षीय दुर्गेश पाल, भारतको महाराजगञ्जका १९ वर्षीय सन्दिप कुर्मी र सोही स्थानका १९ वर्षीय महिप बर्मा रहेको प्रहरीले जनाएको छ ।
सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा दुई भारतीयसहित ४ जना नक्कली परीक्षार्थीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय लुम्बिनीले लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने चारै जनालाई हिरासतमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी ढगबहादुर केसीले जानकारी दिए ।
पक्राउ परेका चारै जनामाथि यसबारे अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।






