टिप्परको ठक्करबाट ८ वर्षीया बालिकाको मृत्यु

   ८ फाल्गुन २०७८, आईतवार ११:५८  

८ फागुन, भक्तपुर । भक्तपुरमा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा टिप्परको ठक्करबाट काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर २ की ८ वर्षीया विनिता मगरको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

प्रवक्ता पाण्डेका अनुसार शनिबार साँझ बा.४ ख.७३५२ नम्बरको टिप्परको गम्भिर घाइते भएकी ती बालिकालाई उपचारका लागि मध्यपुर थिमी अस्पतालमा ल्याएपनि हिजो मध्यराति नै मृत्यु भएको हो । बालिकाका बुवा आमा सुडालस्थित बिएम इट्टा–भट्टाका मजदुर हुन् ।

दुर्घटना पश्चात् टिप्पर चालक भक्तपुर नगरपालिका ८ स्थित जेला बस्ने २७ वर्षीय राजेश कुश्मालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरीले जनाएको छ ।