लागूऔषधसहित बाराबाट २ जना पक्राउ

   ५ फाल्गुन २०७८, बिहीबार १४:३४  

५ फागुन, बारा । बाराको जितपुरसिमराबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ थानिमाईस्थित सडकखण्डबाट लागूऔषधसहित मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० का ३१ वर्षीय अनुपन लामा र वडानम्बर १३ बस्ने ३१ वर्षीय विजय श्रेष्ठलाई हिरासतमा लिएको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

वीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेका उनीहरू चढेको बा ३९ प ४५५४ नम्बरको मोटरसाइकलको सिटमुनि एयर फिल्टरमा लुकाएर राखिएको अवस्थामा लागूऔषध बरामद गरिएको हो ।

दुवै जनाको साथबाट लागूऔषध कोडीवेल १ सय एमएलको ११ पिस, ८ पत्ता नित्राजेपाम, नुफिन, फेनारगन र डाइजेपाम सुई पाँचरपाँच थान बरामद भएको प्रवक्ता राजेश थापाले जनाए ।

पक्राउ परेका उनी दुवै जनामाथि लागूऔषध बारे आवश्यक अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।