२२ किलो चाँदीको गहनासहित ढुङगेश्वरबाट दुईजना पक्राउ
३ माघ, दैलेख । दैलेखको ढुङगेश्वरबाट करिब २२ किलो चाँदीको गहनासहित दुई जनालाई प्रहरीले हिरासतमा लिएको छ ।
ढुङगेश्वर गाउँपालिका वडा नम्बर १ स्याउली बजारबाट कैलाली घर भई दाङको तुल्सीपुर उपमहानगरपालिका १७ बस्ने डम्बरप्रसाद ढुंगाना र कैलालीकै टिकापुर नगरपालिका ९ घर भई सुर्खेत वीरेन्द्रनगर नगरपालिका ४ एरिचोक बस्ने २६ वर्षीय दिपक पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको टोलीले सवारी चेकजाँच गर्ने क्रममा सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे१च ३२१३ नम्बरको बलेरो गाडीलाई रोकी चेकजाँच गर्दे २१ किलो ७२५ ग्राम चाँदीको गहना बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुवै जनाको १ लाख ६३ हजार ४ सय ८९ मूल्य बराबरका पोते, पत्थर र गहना राख्न प्रयोग हुने डिब्बालगायत सामानहरूसमेत बरामद गरिएको छ ।
गहनासहित पक्राउ परेका दुवै जनालाई आवश्यक कार्यावाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँके पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।






