सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, एकको अवस्था गम्भीर

   ३ फाल्गुन २०७८, मंगलवार ११:०५  

३ माघ, रुपन्देही । रुपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका १२ मिलन चोकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा परेर गैडहवा गाउँपालिका वडा नम्बर ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको छ, भने एक जना गम्भीर घाइते भएका छन् ।

तीन जना सवार भएको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल आज बिहान ४ तिर अनियन्त्रित भएर पल्टिंदा घाइते भएका तीनै जनालाई उद्धार गरी उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

अस्पतालमा उपचारकै क्रममा दुई जनाको मृत्यु भएको छ भने घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।