आमाको हत्या आरोपमा मोरङको उर्लाबारीबाट छोरा पक्राउ

   २ फाल्गुन २०७८, सोमबार १०:४९  

२ फागुन, मोरङ । आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ परेका छन् ।

मोरङको उर्लाबारी नगरपालिका ४ आइतबारेकी ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या आरोपमा उनकै ३५ वर्षीय छोरा गङ्गाप्रसाद भण्डारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

आइतबार साँझ भएको सामान्य घरायसी विवादको कारण गङ्गाप्रसादले आफ्नै वृद्धा आमामाथि चिरपट प्रहार गरेका थिए । चिरपट प्रहारबाट गम्भीर घाइते भएकी वृद्धालाई उपचारका लागि ट्रमा सेन्टर मङ्गलबारे ल्याएपनि उपचारकै क्रममा आइतबार गएराति करिब १०:२५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आमाको हत्या गरेको सूचना पाएलगत्तै ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले आरोपी छोरालाई हिरासतमा लिएको हो ।

सामान्य मानसिक भएको गङ्गाप्रसादमाथि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।