आगोले जलेर सर्लाहीमा वृद्धको मृत्यु
२ फागुन, सर्लाही । घरमा आगलागी हुँदा सर्लाहीको वाग्मती नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ ।
वाग्मती नगरपालिका ८ शंकरपुरको सोल्टीस्थित राम अशिष साहको घरमा आज बिहानै २ बजेतिर आगो लाग्दाँ ६६ वर्षीय साह जलेर मृत्यु भएको प्रहरीले जनाएकोछ । घरको आँगनमा वृद्ध जलिरहेको देख्नासाथ छिमेकीहरूले पानी हालेर निभाउने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनी २ वर्षयता अशक्त भएका घरमै बसिरहेका थिए । पक्षघात भएर बिरामी परेका साहको शरीरको एक भागले काम गरिरहेको थिएन ।
बुहारीसहित अन्य सदस्य घरमै सुते पनि छिमेकीले चिच्याएपछि मात्र उनीहरूले थाहा पाएका थिए । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






