ग्रेडरको ठक्करबाट एक छात्राको मृत्यु हुँदा धनगढीमा प्रदर्शन
१५ मंसिर, कैलाली । ग्रेडरको ठक्करबाट साइकलमा सवार एक छात्राको मृत्युपछि स्थानीय वासिन्दा र विद्यार्थीहरुले धनगढीमा विरोध प्रदर्शन गरेका छन् ।
आज बिहान विद्यालय जाने क्रममा धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर(पिपल चौतारा सडकखण्डमा कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिदाँ १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पञ्चोदय माध्यमिक विद्यालय हसनपुर कक्षा ८ मा अध्ययनतर बालिकाको दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
दुर्घटना पश्चात् ठक्कर दिने ग्रेडरसहित चितवनको भरतपुर महानगरपालिका २८ घर भएका चालक २७ वर्षीय बिमल कुमाललाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, आक्रोशित स्थानीय र विद्यार्थीहरुले धनगढीको मुख्य सडक बन्द गर्दै टायर बालेर प्रदर्शन समेत गरेका छन् ।






