लागूऔषधसहित सर्लाहीबाट दुईजना पक्राउ
३० पुस, सर्लाही । लागूऔषधसहित सर्लाहीबाट दुई जना पक्राउ परेका छन् ।
जिल्लाको मलंगवा नगरपालिका ८ लच्काबाट आज बिहान भारत सितामढी सोनबर्षा ग्राम ९ का ३२ वर्षीय अजय कुमार महतोलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चेकजाँचका लागि प्रहरी चौकी गोरखकालीबाट सीमामा खटिएको प्रहरी टोलीले महतोलाई चेक गर्दा ७५ पिस नाइट्राभेट फेला पारेका थिए । भारतबाट नेपालतर्फ आउँदै गरेको महतोलाई लागूऔषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
यस्तै, बर्दिया बढैयाताल नगरपालिका ८ इँटाभट्टा नजिकबाट पनि आजै एक जनालाई ब्राउन सुगरसहित हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका वडा नम्बर ४ तुलापुरका २० वर्षीय बिपिन सुनारलाई करिब ३ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर सहित शुक्रबार बिहानै पक्राउ गरिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा सवारी चेकजाँच गर्ने क्रममा भे.९ प ७६६९ नम्बरको मोटरसाइकलमा सवार उनको खानतलासी गर्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






