सर्लाहीका नेकपा अध्यक्ष रेवती पन्तलाई कोरोना संक्रमण पुष्टि
साउन २१, रौतहट । सर्लाही जिल्लाका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष रेवती पन्तलाई कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । साउन २१ गते बुधबार विज्ञप्ति जारी गरी उनले आफूमा कोरोना भाईरसका संक्रमण देखिएको बताएका हुन् ।
हाल उनी काठमाडौंमा डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बसेको र अहिले उनका स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गरेका छन । ‘३ र ४ दिन पहिलेदेखि मलाई हल्का ज्वरो र घाँटीमा केही असजिलो समस्या अनुभव भएको थियो । शंका लागेर काठमाडौंमा आएर स्वाब संकलन गराएँ । पिसिआर टेष्ट कोरोना पोजेटिभ देखियो’ उनले विज्ञप्तिमा भनेका छन ।
यसबीचमा आफूले कामको सिलसिलामा केही भेटघाट र छलफल गरेको भन्दै उनले नजिकबाट आफ्नो सम्पर्कमा रहेकाहरुलाई सचेत हुन र परीक्षण गराउन सुझाव दिएका हुन् । ‘कोरोनालाई सामान्य रोगको रुपमा ग्रहण गर्नुको विकल्प अब हामीसँग रहेन तर हामी सबैले सचेत भएर कोरोना फैलन नदिन आवश्यक मापदण्ड पालना गर्नैपर्छ’ उनले भनेका हुन् ।