नक्कली नोटसहित नवलपरासीबाट दुई जना पक्राउ
२९ पुस, रौतहट । नवलपरासीबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् ।
नवलपरासीको सदरमुकाम परासीस्थित केही पसलमा नक्कली नोट सटही गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम)बाट खटिएको टोलीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नक्कली नोटको कारोबारमा संलग्न भएका लुम्बिनी साँस्कृतिक नगरपालिका १२ बस्ने रसिद मोहम्मद र कपिलवस्तुको शुद्धोधन गाँउपालिका २ नन्दपुर बस्ने जमाल मुसलमानलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ । नवलपरासीका प्रहरी प्रवक्ता डिएसपी प्रेमबहादुर शाहीका अनुसार दुवै जनालाई रामग्राम नगरपालिका ५ बुद्धचोकबाट पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारतीय १ सयको ३ थान र भारतीय ५० को १७ थान नक्कली नोट बरामद गरिएको प्रहरीले जनाएको छ ।
नक्कली नोटसहित पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






