मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु

   १८ पुष २०७८, आईतवार १३:०७  

१८ पुस, सर्लाही । सर्लाहीको ईश्वरपुरमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ जंगलमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सागरनाथबाट बयलवासतर्फ जाँदै गरेको बा.१९प.७१९७ नम्बरको मोटरसाइकल शनिबार राति दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका १० दशबिगाहाका २२ वर्षीय अरुण सिंह, सोही उमेरका रोहन सिंह र २० वर्षीय श्रगम बिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रहरी प्रवक्ता तथा डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको छ । मोटरसाइकल अचानक अनियन्त्रीत भई सपेताको रुखमा ठोक्किएर सडकबाट १० मिटर तल खसेर दुर्घटना भएको प्रवक्ता बुढाथोकीले जनाए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।