कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

   १६ पुष २०७८, शुक्रबार ११:५१  

१६ पुस, रौतहट । कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट प्रहरीले बिहीबार साँझ दुई जनालाई लागुऔषध चरेससहित पक्राउ गरेको छ । भीमदत्त ६ ऐठपुर बस्ने २६ वर्षीय हरिशप्रसाद जोशी र सोही स्थानका २५ वर्षीय सागर बोहरालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय गड्डचौकी र महेन्द्रनगरबाट खटिएको टोलीले शंकास्पद अवस्थामा दुवै जनालाई रोकी चेकजाँच गर्दा पर्सभित्र लुकाईछिपाई राखेको अवस्थामा उनीहरुको साथबाट प्रहरीले ८.८८ ग्राम चरेस बरामद गरेको शाहले जनाए ।

पक्राउ परेका दुवै जनामाथि यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।