सर्लाहीको ईश्वरपुरमा पुन: निषेधाज्ञा

   १५ पुष २०७८, बिहीबार १२:१८  

१५ पुस, सर्लाही । सर्लाहीको बयलबास बजार क्षेत्रमा आज पनि निषेधाज्ञा जारी गरिएको छ ।

पुस ११ गते (आइतबार) राति ९ बजेतिर प्रहरीको भ्यान गाडीको ठक्करबाट स्थानीय एक व्यवसायी रामकुमार महतोको मृत्यु पश्चात् स्थानीयवासीले ईश्वरपुर नगरपालिका अन्तर्गत बयलबास क्षेत्रमा तनाव सिर्जना गरेको कारण बिहीबार पुन जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेको छ ।

राति गस्तीमा हिँडेको प्रहरीको भ्यानको ठक्क्रबाट महतोको मृत्युपछि बजार तनाव ग्रस्त भएको छ । बयलबास बजार क्षेत्रमा मंगलबार दिउँसो ३ बजेदेखि हिजो बेलुका ७ बजेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा लागू गरेको थियो । स्थिति अझै नियन्त्रणमा नआएको भन्दै स्थानीय प्रशासन कार्यालयले आज पुन बेलुका ७ बजेसम्मका लागि बयलबास बजार तथा आसपासका क्षेत्रमा कुनै किसिमको जुलुस, भेला, जमघट हुने नपाउने गरी निषेधाज्ञा लागू गरेको हो ।

यस्तै, दुर्घटनामा ज्यान गुमाएका रामकुमार महतोको परिवारलाई राहत स्वरुप रु १० लाख रुपैयाँ उपदलब्ध गराउने लगायतका ६ बुँदे सहमति भएको छ । सहमति भएपनि पुनः प्रदर्शन हुनसक्ने भन्दैँ स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।