पुरानो ब्याट्री सहित तीन जना पक्राउ

   १४ पुष २०७८, बुधबार १२:००  

१४ पुस, रौतहट । भन्सार छलेर भारततर्फ लैजादैँ गरेको अवस्थामा ट्रक र पुरानो ब्याट्री सहित नवलपुरबाट ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको परोहा नगरपालिका वडा नम्बर ६ निवासी ४७ वर्षीय निरजकुमार जैसवाल, ट्रक चालक सर्लाहीको मलङ्गवा नगरपालिका २ बस्ने २७ वर्षीय प्रमोद राय र मलङ्गवाकै १८ वर्षीय आकाश कुमार रहेको प्रहरीले जनाएको छ ।

बाग्मती प्रदेश ०३–००१ ख १५५२ नम्बरको ट्रक र पुरानो ब्याट्री सहित तीनै जनालाई मंगलबार राति नियन्त्रणमा लिएको हो ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ८ स्थित थानाचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदैँ गरेको अवस्थामा ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा बिल नभएको कारण उनीहरुलाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सागर पन्तले जानकारी दिए ।

ट्रकमा लोड गरि अवैधरुपमा ओसारपसार गरेको २४ दशमलब १६० टन पुराना ब्याट्रीहरुको मूल्य करिब ३६ लाख २४ हजार बराबर रहेको पन्तले जनाए ।

पक्राउ परेका तीनै जनालाई ट्रक र ब्याट्रीसहित राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।