ट्रक र बसको ठक्करबाट एक जनाको मृत्यु, २ घाइते

   १४ पुष २०७८, बुधबार ११:२५  

१४ पुस, रौतहट । सवारी दुर्घटनामा परी कपिलबस्तुमा एक जनाको मृत्यु भएको छ भने दुई जना उपचाररत छन् ।

मंगलबार गएराति करिब १० बजेतिर पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका ४ दरखास्तमा ट्रक र बसले कारलाई ठक्कर दिँदा शाइन रेसुंगा बैंक जितपुर शाखाको प्रमुख बाणगंगा नगरपालिका १ पिपराका ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाण्डेसंगै कारमा सवार सुदीप खनाल र राजेश शर्मा पनि गम्भीर घाइते भएका हुन् । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार पाण्डे सवार बा ६ च ११६४ नम्बरको कारलाई सुरुमा ट्रकले ठक्कर दिएको थियो । पछि ना ५ ख ३३८७ नम्बरको बसले पाण्डेले चलाएको कारलाई ठक्कर दिएको थियो ।

कपिलवस्तुको जितपुरबाट गोरुसिंगे जाने क्रममा हिजो राति दुर्घटनामा परेर गम्भीर घाइते भएका पाण्डेलाई उपचारका लागि क्रिमसन अस्पतालमा ल्याएपनि चिकित्सकले उनलाई मृत पोषणा गरेका थिए ।

पोष्टमार्टमका लागि पाण्डेका शव सोही अस्पतलामा राखिएको छ । दुर्घटनामा घाइते भएका अन्य दुई जनाको बुटवलमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।