महोत्तरीमा अज्ञात व्यक्तिले गरेको एकैसाथ ५ पसलमा आगजनी
१३ पुस, महोत्तरी । महोत्तरीको एकडारास्थित ५ पसलमा अज्ञात समूहद्वारा एकैसाथ आगजानी गरिएको प्रहरीले जनाएको छ ।
जिल्लाको एकडारा गाउँपालिका वडा नम्बर ३ भटौलिया बजारमा सोमबार गए राति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गर्दा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
विष्टका अनुसार भटौलिया बजारमा स्थानीय राजकुमारी साहको खाजा पसल, रामएकवालको चिया पसल, योगेन्द्र साहको चिया पसल, मङ्गल साह र शम्भु साहको खाजा पसलमा हिजो राति करिब ९:१५ बजेतिर अज्ञात व्यक्तिहरुले पसलमा गरेको आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, टेबुल, फ्रिज, कुर्सी, बेञ्च, भाँडाकुँडा, ग्यास सिलिण्डर, चुल्हा र घरसमेत पूर्णरुपमा जलेर नष्ट भएको छ ।
आगजनी हुँदा करिब ५ लाख भन्दाँ बढीको क्षति भएको प्रहरीले जनाएको छ । राति बेला कोही नभएको अवस्थामा आगजनी गरिएको कारण आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
यसबारे अनुसन्धान सुरु भएको छ ।






