कैलालीमा सवारी दुर्घटना हुँदा २० जना घाइते, एकको अवस्था गम्भीर
९ पुस, रौतहट । कैलालीमा सवारी दुर्घटना हुँदा २० जना घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बझाङबाट धनगढी आउँदै गरेको ना ६ ख १९८२ नम्बरको बस र सोही विपरीत दिशाबाट गइरहेको ना६ ख २३६२ नम्बरको ट्रक एकआपसमा ठोक्किदाँ २० जना घाइते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका निमित्त प्रमुख प्रहरी निरीक्षक राजेन्द्र सिंहले जानकारी दिए ।
सिंहका अनुसार जिल्लाको भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको चुरे गाउँपालिकाको खानीडाँडा नजिकै बिहीबार साँझ भएको सवारी दुर्घटनामा परी बझाङकी ६० वर्षीय मैना धामी गम्भीर घाइते भएकी छिन् ।
उनको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सोही अस्पतालमा १२ जना घाइतेहरुलाई उपचारका लागि भर्ना गरिएको छ, अन्यलाई ल्याउने काम सुरु भएको छ ।
यस्तै, बस चालक लालबहादुर चन्द र ट्रक चालक कृष्ण पार्की समेत सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।






