रुपन्देहीबाट चाँदीका गहनासहित दुई जना पक्राउ

   ८ पुष २०७८, बिहीबार १३:३८  

८ पुस, रुपन्देही । भारतबाट अवैधरुपमा ल्याएको चाँदीका विभिन्न गहनासहित दुई जनालाई रुपन्देहीबाट प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको कोटहीमाई गाउँपालिका वडा नम्बर ५ दुईमुहानबाट सम्मरिमाइ गाउँपालिका वडा नम्बर ६ अशुरैनाका ४० वर्षीय कुरेश सुनार र सोही स्थानका २४ वर्षीय अनिल बर्मालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बुधबार दिउँसो भारतबाट नेपालतर्फ आउँदै गरेको लु.१९ प ५१५९ नम्बरको मोटरसाइकलमा सवारी उनीहरुलाई रोकी चेकजाँच गर्ने क्रममा करिब ४ किलो ९ सय ग्राम चाँदीका विभिन्न गहना फेला परेको ईलाका प्रहरी कार्यालय मझगावाले जनाएको छ ।

उक्त गहनाको बील नभएको कारण हिरासतमा लिएको उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलहिया पठाइएको छ ।