आगलागीमा जलेर घाइते भएको बालकको मृत्यु
७ पुस, रौतहट । आगलागीमा परेर गम्भीर घाइते भएको बालकको उपचारकै क्रममा आज बिहान मृत्यु भएको छ ।
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ मा मंगलबार दिउँसो २ बजेतिर भएको आगलागीमा परेर स्थानीय जोखु राय यादवको ३ वर्षीया छोरी आराध्या कुमारी यादवको घटनस्थलमै मृत्यु भएको थियो भने अर्का २ वर्षीय बालक रोहित साह गम्भीर घाइते भएका थिए ।
आगलागीमा परेर शरीरको अधिकांश भाग जलेर गम्भीर घाइते भएको रोहितलाई उपचारका लागि वीरगञ्ज ल्याएपनि उपचार सम्भव नभएका कारण उनलाई टिचिङ अस्पताल काठमाडौँ पठाइएको थियो ।
टिचिङ अस्पताल काठमाडौँमा ल्याएपनि उपचारकै क्रममा आज बिहान ती बालकको मृतयु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी बिनोद घिमिरेले जानकारी दिए ।
मंगलबार दिउँसो अचानका भएको आगलागीबाट रामबिश्वास यादवको १ विघा खेतको १६० भन्दा बढी धानको भारी जलेर पूर्णरुपमा नष्ट भएको छ ।






