अवैध सुनसहित विमानस्थलबाट एक बंगलादेशी नागरिक पक्राउ
५ पुस, रौतहट । अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
करीब ३ सय ३३ ग्राम सुनसहित पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलाम रहेको प्रहरीले जनाएको छ ।
उनको साथबाट पहेलो धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी ३ सय ३३ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ ।
हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्याण्ड व्यागेजमा चेकजाँच गर्ने क्रममा उक्त सुनसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनलाई आवश्यक कार्यावाहीका लागि विमानस्थल सुरक्षा कार्यालय गौचर पठाइएको छ ।






