सर्लाहीमा ट्रकको ठक्करबाट छात्रको मृत्यु

   ५ पुष २०७८, सोमबार १०:५४  

५ पुस, रौतहट । सर्लाहीमा ट्रकको ठक्करबाट आज बिहान एक छात्रको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लालबन्दी ९ स्थित जनज्योति माविमा कक्षा ९ मा अध्ययनरत चन्द्रनगर गाउँपालिका वडा नम्बर १ का १६ वर्षीय दीपेन्द्रकुमार यादव रहेको प्रहरीले जनाएको छ ।

जिल्लाको लालबन्दी नगरपालिका ९ स्थित पूर्वपश्चिम लोकमार्गअन्तर्गत बस्तीपुर चोकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ७९९० नम्बरको ट्रकले ठक्कर दिँदा यादवको सोमबार बिहान मृत्यु भएको ईलाका प्रहरी कार्यालय लालबन्दीका कार्यालय प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

थापाका अनुसार ट्यूसन पढ्न जाने क्रममा पैदल हिँडिरहेका छात्रलाई ट्रकले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रण लिई घटनाबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।